चाडपर्वदेखि खेलकुदसम्म: टुँडिखेलमा सबै गतिविधि रोक

साझा लाल्टिन संवाददाता

०४ चैत,काठमाडौं काठमाडौं महानगरपालिकाले टुँडिखेल चौरमा हुने विभिन्न कार्यक्रम अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। आगामी चैत ८ गतेदेखि लागू हुने गरी सभा–समारोह, खेलकुद तथा चाडपर्वसँग सम्बन्धित गतिविधि सञ्चालनमा निषेध गरिएको हो।

महानगरको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचनाअनुसार टुँडिखेल (सैनिक मञ्चको दक्षिणतर्फ) मा घाँसे मैदान निर्माण कार्य सुरु गर्न लागिएको छ। निर्माण प्रक्रिया पूरा नभएसम्म उक्त क्षेत्र पूर्ण रूपमा बन्द रहने जनाइएको छ।

विभागले सरोकारवालालाई कार्यक्रम सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्था गर्न आग्रह गरेको छ। निर्माण अवधिभर त्यहाँ कुनै पनि सार्वजनिक वा खेलकुद गतिविधि सञ्चालन गर्न नपाइने स्पष्ट गरिएको छ।

प्रतिक्रिया