काठमाडौँ ०७ साउन - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका साझा व्यक्तित्वका रूपमा पुष्पलाललाई स्मरण गर्दै भनेका छन्, पुष्पलाल हामी सबैको साझा केन्द्र हुनुहुन्छ, उहाँलाई केन्द्रमा राखेर सच्चा कम्युनिस्टहरूले पार्टी एकता र मोर्चा निर्माण गर्नु आजको अनिवार्य आवश्यकता हो ।
उनले पुष्पलाल प्रति आफ्नो निष्ठा स्मरण गर्दै थपेका छन्, मैले एक रुपैयाँ लेवी तिरेर पुष्पलाल समूहमार्फत पार्टी सदस्यता लिएको थिएँ । पुष्पलाललाई जनयुद्धका क्रममा सम्मान गर्ने गरी नै मैले दस्ताबेज पनि लेखेको थिएँ । त्यसैगरी झापा विद्रोहको सम्मान र पुष्पलालमाथि लगाइएको आरोपको खण्डन गर्दै दस्ताबेज लेख्ने अवसर पनि मलाई प्राप्त भएको थियो ।
संविधानसभाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमार्फत जनतालाई गोलबन्द गरेर मात्रै संविधानसभा सम्भव भएको स्मरण गराएका छन् ।
संविधानका विषयमा युरोपमा बुद्धिजीवीहरूले बहस गर्थे, तर ती बहसलाई मार्क्सले जनताको साथ र विद्रोह बिना कागजका खोस्टा मात्र हुन् भनेका थिए । नेपालमा पनि संविधान सभाको बहस पहिले देखि हुँदै आए पनि निर्वाचन हुन सकेको थिएन । माओवादी केन्द्रले जनयुद्धको सुरुवात गरी जनतालाई गोलबन्द गर्दै जनमिलिसिया सेना निर्माण गरेपछि मात्रै जनताको विद्रोहको बलमा संविधानसभाको निर्वाचन सम्भव भएको हो, उनले भनेका छन् ।
अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा ३६ वर्ष लामो आफ्नो भूमिकाको स्मरण गर्दै कम्युनिष्ट पार्टीहरूबिचको एकता, विद्रोह र देशमा शान्ति कायम गर्न खेलेको भूमिकाबारे चर्चा गरेका छन् । कहिले विद्रोह, कहिले शान्ति प्रक्रिया, कहिले पार्टी एकता - यी सबैमा मैले नेतृत्व गरेको हुँ । अहिले पनि मैले कम्युनिस्टहरूको एकताको झन्डा बोकेको छु, उनले भने, वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्नेमा उनले जोड दिएका छन् ।
सर्वत्र मिडियाबाट भ्रम र निराशा फैलाउने काम भइरहेको छ । तर, हामीले जनतामा वर्गीय आशा जगाउनै पर्छ, उनले बताएका छन् । अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि पुष्पलालको विचारलाई मूल मार्गदर्शक मान्नुपर्ने धारणा व्यक्त गरेका छन् । हामीले गरेका माओवादी आन्दोलनका सम्पूर्ण गतिविधि पुष्पलालकै विचारको आधारमा गरेका थिए, उनको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले सबै कम्युनिष्ट शक्तिहरूलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । कमरेड पुष्पलाललाई सच्चा सम्मान गर्ने हो भने कम्युनिष्ट क्रान्तिकारीहरूबिच एकता हुनुपर्छ, उनले स्पष्ट पारेका छन् ।