पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: पश्चिमबाट वर्षा, काठमाडौंमा कालो बादल मडारियो

साझा लाल्टिन संवाददाता

१ चैत,काठमाडौं नेपालको पश्चिमी क्षेत्रमा बिहानैदेखि वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको छ। काठमाडौंमा अहिले हुरीबताससहित कालो बादल मडारिएको छ भने केही स्थानमा पानी परिरहेको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची र मनाङलगायत पश्चिमी तथा मध्यपहाडी जिल्लामा आज बिहानैदेखि वर्षा भइरहेको जानकारी दिए। उनका अनुसार वर्षा गराउने यो प्रणाली अहिले चितवनसम्म आइपुगेको छ।

पछिल्लो एक घण्टामा गुल्मीमा १७ मिलिमिटर र तनहुँमा ११ मिलिमिटर वर्षा भएको छ। देशका अन्य भूभागमा मौसम सामान्यतः बदली र आंशिक बादल लाग्ने देखिएको छ।

हाल मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ भने कोशी र गण्डकी प्रदेशमा आंशिक बादल छ। तराई र उपत्यकाका केही स्थानमा हल्का हुस्सु पनि परेको विभागले जनाएको छ।

विभागले जारी गरेको मौसम बुलेटिन अनुसार गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारण बादल रहनेछ। बाँकी भूभागमा आंशिक बादल रहने अनुमान छ।

साथै, देशका केही हिमाली भूभागमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने थोरै स्थानमा हिमपात पनि हुन सक्छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग, कोसी, बागमती र गण्डकीका केही पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ।

मौसमको यो बदली अझै केही दिन कायम रहने अनुमान छ।

प्रतिक्रिया