काठमाडौँ १० भदौ - राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मंगलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथाशक्य पहल गरिदिन सो आग्रह गरेका हुन् । उनले पत्रमा यस प्रयोजनका लागि उनका जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।
यसैबिच जोशीको खोजी तथा सुरक्षित रिहाइका लागि सरकारले गरेका सबै प्रयासका बाबजुद हालसम्म निजको अवस्था यकिन हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै जोशीको अवस्था पत्ता लगाई हमासको कब्जाबाट मुक्त गरी स्वदेश फिर्ता ल्याउने कुरामा नेपाल सरकार निरन्तर लागिरहने जानकारी दिएको छ ।