ओलीले फ्लाइओभर उद्घाटनमा ट्राफिक प्रमुखलाई कटाए रिबन, शिलालेखमा आफ्नै नाम

साझा लाल्टिन संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकाको व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को उद्घाटन भएको छ । 

प्रधानमन्त्री ओलीबाटै रिबन काटेर ओभरपासको उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । तर प्रधानमन्त्री ओलीले ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी नवराज अधिकारीलाई रिबन काट्न लगाए । उनले फेसबुकमा लेखेका छन्  'सडकको जाम व्यवस्थापन गर्न ट्राफिक प्रहरी सडकमा अहोरात्र खट्छन् । ट्राफिक व्यवस्थापन गर्न उनीहरूले धेरै दुःख र मेहनत गर्नु परेको हुन्छ। ट्राफिक प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा आज साक्षी बन्ने अवसर मिल्यो ।' 

ओलीले आफू उद्घाटनको साक्षी मात्रै बनेको भने पनि शिलालेखमा भने उनकै नाम पहिले नै राखिइसकेको थियो । 'सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट काठमाडौं चक्रपथ कलंकी-कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को फ्लाईओभरको समुद्‍घाटन सु-सम्पन्न भयो,' शिलालेखमा लेखिएको छ ।

चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्को चोकमा ओभरपास निर्माण गरेको हो । चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलङ्कीसम्म जाम हुने तीन क्षेत्रमध्ये ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण भएको हो । 

६ मिटर उचाइ र ४ सय ५५ मिटरको लम्बाइ हुने ओभरपासमा ग्राउन्ड क्लियरेन्स ६ मिटर तथा सवारी साधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्‍याम्प निर्माण भएको छ । 

 

प्रतिक्रिया