काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका नेता रञ्जित तामाङले विद्यार्थी संगठनहरूको वर्तमान अवस्थाप्रति कडा असन्तुष्टि जनाउँदै ती संगठनहरू ऐतिहासिक जिम्मेवारीबाट विमुख भएको आरोप लगाएका छन्।
तामाङले सामाजिक संजाल फेसबुक मार्फत भनेका छन् विद्यार्थी संगठनहरू कुनै समय निरंकुशता र सबै प्रकारका अतिवादविरुद्ध सडकमा उत्रिने सशक्त प्रतिपक्षका रूपमा स्थापित रहेको स्मरण गराउँदै वर्तमान अवस्थामा भने ती संगठनहरू उल्लेखनीय रूपमा कमजोर र निष्क्रिय बनेको बताएका छन्।
उनका अनुसार राजनीतिक स्वतन्त्रता, प्रजातन्त्र, राष्ट्रियता तथा विद्यार्थी अधिकारका पक्षमा संघर्ष गर्दै आएको गौरवपूर्ण इतिहास बोकेका संगठनहरूले आफ्नै विघटनको संकेत देखिँदा समेत प्रभावकारी प्रतिवाद गर्न नसक्नु गम्भीर विफलता हो।
“विघटनजस्तो संवेदनशील विषयमा समेत संगठनहरू केवल विज्ञप्तिमा सीमित हुनुले उनीहरूको वास्तविक अवस्था उजागर गर्छ,” तामाङले लेखेका छन्।
उनले संगठनभित्रका कमजोरी सुधार गर्दै पुनः लोकतान्त्रिक अभ्यास, जनजीविका र राष्ट्रियताको पक्षमा उभिने दृढता नदेखिनु झनै चिन्ताजनक भएको उल्लेख गरेका छन्।
तामाङले चेतावनी दिँदै भनेका छन् कि वर्तमान परिस्थितिमा विघटनको विरोध गर्न नसक्नेभन्दा त्यसलाई सहजरूपमा स्वीकार गर्नेहरू नै इतिहासका दोषी ठहरिनेछन्।