परीक्षा अघि नै प्रश्नपत्र बाहिरियो, लालबन्दी नगरपालिकाले रोक्यो परीक्षा
साझा लाल्टिन संवाददाता
25 March 2026
११ चैत,काठमाडौं - सर्लाहीको लालबन्दी नगरपालिकामा कक्षा ८ को नगरपालिका स्तरीय परीक्षाअन्तर्गत आजका लागि निर्धारित सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको परीक्षा अन्तिम समयमा स्थगित गरिएको छ।
प्रश्नपत्र बाहिरिएको घटना पुष्टि भएपछि नगरपालिकाले आकस्मिक निर्णय गर्दै परीक्षा रोक्ने निर्णय गरेको हो। प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलले हिजो नै सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिएका थिए।
अब उक्त विषयको परीक्षा चैत १७ गते सञ्चालन गरिने भएको छ। शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटीका अनुसार यो विषयको परीक्षा मात्रै सारिएको हो, अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै निरन्तर चलिरहनेछन्।