सहरी व्यवस्थापनमा काठमाडौँ महानगर र नेपाल प्रहरीबीच नयाँ समन्वय

साझा लाल्टिन संवाददाता

३ वैशाख, काठमाडौं,

काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच सडक सुरक्षा, सहरी सुरक्षा तथा सहरी व्यवस्थापनमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने सहमति भएको छ। महानगरका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भएको भेटवार्तामा नागरिकलाई अझ प्रभावकारी सेवा दिने लक्ष्यसहित समन्वय बढाउने विषयमा विस्तृत छलफल भएको हो।

भेटमा कार्यवाहक प्रमुख सुनीता डंगोलले ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी अनुशासन कायम गर्ने काम तथा ‘सडक मानवमुक्त काठमाडौँ’ अभियानमा नेपाल प्रहरीसँग घनिष्ठ सहकार्य चाहेको बताउनु भयो। उहाँले महानगर प्रहरी बललाई नेपाल प्रहरीको सहयोगले अझ सशक्त बनाइने विश्वास व्यक्त गर्दै यसबाट नागरिकले प्रत्यक्ष परिवर्तन महसुस गर्ने उल्लेख गर्नुभयो।

प्रहरी महानिरीक्षक कार्कीले पनि महानगरलाई आवश्यक पर्ने समन्वय, सुरक्षा र जनशक्ति सहयोग उपलब्ध गराउन नेपाल प्रहरी पूर्ण रूपमा तयार रहेको बताउनुभयो। उहाँका अनुसार उपत्यका प्रहरी कार्यालयमार्फत महानगरका विभिन्न कार्यक्रम र योजनामा फोकल पर्सनमार्फत प्रत्यक्ष समन्वय गरिनेछ।

छलफलमा लागूऔषध दुव्र्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान–मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, सडक संकेत सुधार, ट्राफिक व्यवस्थापन, रात्रि तथा विहानी बस सेवाको सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको थियो। साथै, सडक मानवमुक्त अभियानअन्तर्गत सञ्चालन हुने सेवामा पनि नेपाल प्रहरीको सक्रिय सहभागिता रहने सहमति भएको छ।

बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, अन्य अधिकारीहरू तथा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया