राति पनि सुरक्षित यात्रा: काठमाडौंमा विद्युतीय नाइट बस सञ्चालन हुँदै

साझा लाल्टिन संवाददाता

काठमाडौँ - काठमाडौंमा अब राति पनि सार्वजनिक बस चल्ने भएका छन्। काठमाडौं महानगरपालिकाले साझा यातायात सँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सेवा सुरु गर्ने घोषणा गरेको हो।

नयाँ सेवाअन्तर्गत दुई प्रमुख रुट सञ्चालन हुनेछन्। पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल हुँदै गंगालाल हृदय केन्द्र पार गर्दै बुढानीलकण्ठसम्म पुग्नेछ। यो उत्तर–दक्षिण रुट करिब १६ किलोमिटर लामो हुनेछ।

त्यसैगरी, दोस्रो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ। पूर्व–पश्चिम दिशाको यो रुट करिब २० किलोमिटर हुनेछ।

यी दुवै रुटमा चारवटा विद्युतीय बस सञ्चालन गरिनेछ। सेवा सुरु भएपछि बेलुका ८ बजेदेखि राति ११ बजेसम्म बस चल्नेछन्, र हरेक बस स्टपमा २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार, राति सार्वजनिक यातायात नहुँदा सर्वसाधारणले महँगो यात्रा गर्नुपर्ने बाध्यता हटाउन यो सेवा सुरु गर्न लागिएको हो। विशेषगरी महिला, किशोरी र विद्यार्थीहरूले भोगिरहेका समस्या कम गर्ने उद्देश्य रहेको उनले बताइन्।

यस सेवामा सुरक्षा र सुविधा दुबैलाई प्राथमिकता दिइएको छ। बसहरूमा सीसीटिभी क्यामेरा जडान गरिनेछ भने यात्रुको सुरक्षाका लागि नगर प्रहरी पनि खटाइनेछन्। महानगरपालिकाले यो सेवा आधुनिक, सुरक्षित र भरपर्दो बनाउँदै दीगो सार्वजनिक यातायात प्रणालीको विकास गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया