काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्य तथा प्रदेश कार्यसमिति सभापतिहरूलाई बैठकका लागि बोलाइएको छ। पुस ३० गते सम्पन्न विशेष महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो। यसअघि केन्द्रीय समिति कुपन्डोल र नयाँ बानेश्वरमा बसेको थियो।
विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति आएको हो। आजकै बैठकमा सभापति थापासहित पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ।
बैठकले भावी प्रधानमन्त्री उम्मेदवारका रूपमा सभापति गगन थापालाई घोषणा गर्ने निर्णय गर्ने तयारी गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थापा सर्लाही–४ बाट उम्मेदवार छन्।
विशेष महाधिवेशनपछि बस्न लागेको यो पहिलो बैठकलाई कांग्रेसको नयाँ नेतृत्वको राजनीतिक दिशानिर्देश र सत्ता यात्राको औपचारिक सुरुवातका रूपमा हेरिएको छ।