११ चैत,काठमाडौं - दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी विशेष दूत सर्जिओ गोर र रवि लामिछानेबीच हालै टेलिफोन संवाद भएको छ। काठमाडौँस्थित अमेरिकी दूतावास नेपालका अनुसार उक्त संवादमा गोरले हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि लामिछानेलाई बधाई दिएका हुन्।
चैत १० गते भएको उक्त वार्तामा दुवै नेताबीच नेपाल–अमेरिका सम्बन्ध र आगामी सहकार्यका सम्भावनाबारे पनि कुराकानी भएको जनाइएको छ। गोरले विशेषगरी रास्वपाले निर्वाचनमार्फत हासिल गरेको उपलब्धिलाई सकारात्मक रूपमा लिँदै शुभकामना व्यक्त गरेका थिए।
संवादका क्रममा उनले अमेरिका नेपालसँगको कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउन इच्छुक रहेको बताउँदै नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको सन्देश दिएका छन्। साथै, दुई देशबीच आर्थिक साझेदारीलाई थप विस्तार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
दशकौँदेखि कायम नेपाल–अमेरिका मित्रतालाई अझ गहिरो बनाउने दिशामा अमेरिका सकारात्मक रहेको संकेतसमेत उक्त वार्ताबाट देखिएको दूतावासले जनाएको छ।