१७ चैत,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश केन्द्रित नेताहरूसँग संवादलाई तीव्रता दिएका छन्। मंगलबार उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह सँग छुट्टाछुट्टै भेटघाट गरे।
लोसपा अध्यक्ष ठाकुर लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका थिए। उक्त भेटमा वर्तमान राजनीतिक परिस्थिति, मधेशको विकासका प्राथमिकता र आगामी योजनाहरूका विषयमा छलफल भएको रास्वपाले जनाएको छ। दुवै पक्षले पछिल्लो जनादेशलाई ध्यानमा राख्दै समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्नेमा सहमति जनाएका छन्।
त्यस्तै, आजपा अध्यक्ष साहसँगको भेटमा पनि मधेशलाई प्राथमिकतामा राखेर काम गर्ने विषयमा जोड दिइएको थियो। मधेशसहित देशले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएको भन्दै यसलाई व्यवहारमा उतार्न सहकार्य आवश्यक रहेको दुवै नेताबीच समझदारी बनेको छ।
प्रभु साहका अनुसार करिब २० मिनेटको भेटमा कर्णाली र मधेश क्षेत्रलाई विकासको केन्द्रमा राख्ने सरकारी योजना, पछिल्लो आन्दोलनका प्रभाव तथा आगामी राजनीतिक दिशाबारे पनि छलफल भएको थियो। उनले सरकारका काम राम्रो भए समर्थन गर्ने तर कमजोरी देखिएमा खबरदारी गर्ने आफ्नो धारणा पनि राखेका थिए।
भेटघाटका क्रममा लामिछानेले सरकार सबैको भएकाले सबैको अपेक्षा सम्बोधन हुने गरी विकास र समृद्धिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।