१६ चैत,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई मन्त्रालयमा खटाउने तयारी थालेको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार, यसबारे गृहकार्य भइरहेको छ, तर अहिलेसम्म कार्यान्वयन भएको छैन।
झाले बताएअनुसार, सांसदहरूलाई सम्बन्धित मन्त्रालयमा खटाउने उद्देश्य भविष्यमा सम्भावित मन्त्री बन्ने सांसदहरूको क्षमता अभिवृद्धि गर्नु र कार्य प्रशिक्षण प्रदान गर्नु हो। ‘सांसद भनेको भविष्यको मन्त्री पनि हो, त्यसैले उनीहरूको लागि ट्रेनिङ महत्वपूर्ण हुन्छ,’ उनले भने।
केही सांसदहरू भने आफ्नो विज्ञता अनुसारका मन्त्रालयमा गएर मन्त्रीहरूको काम सहज बनाउन सहयोग गर्दै आएका छन्। रास्वपाका अनुसार, यो कदमले छिटो र छरितो काम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
प्रवक्ता झाले थपे कि सांसदहरूका साथै पार्टीका केन्द्रीय विभागका सदस्यहरूलाई पनि खटाउने योजना रहेको छ।
पार्टीले २१ फागुनको चुनावमा झण्डै दुई तिहाइ नजिकको मत प्राप्त गरी सरकार बनाएको थियो। गत १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएको थियो। प्रधानमन्त्री शाहले हालै सबै दलका सांसदहरूलाई सिंहदरबार बोलाएर छलफल सुरु गरेका छन् भने आज उनले प्रदेशगत रुपमा सांसदहरूसँग छुट्टाछुट्टै बैठकहरू अघि बढाएका छन्।