काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गराउन देशी–विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित चुरे भावर पार्टीसँगको एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले विचार र सिद्धान्तभन्दा पनि ‘स्टन्ट’ को भरमा लोकप्रिय बनाइने प्रवृत्ति बढ्दो रहेको भन्दै त्यसमा बाह्य शक्तिहरूको सक्रिय भूमिका रहेको दाबी गरे।
पूर्वप्रधानमन्त्री दाहालले त्याग, तपस्या र बलिदानको राजनीतिलाई पाखा लगाएर केवल चर्चाका लागि काम गर्नेहरूलाई प्रवर्द्धन गरिनु मुलुकका लागि सुखद नभएको बताए।
‘अहिले विचार र राजनीतिक मूल्यमान्यताभन्दा स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी–विदेशी शक्तिहरूले ठूलो लगानी गरेको हामीले देखिरहेका छौँ,’ उनले भने।
उनले यस्ता शक्तिहरूले भ्रष्टाचारविरुद्धको अभियान र सामाजिक न्यायको मुद्दालाई वास्तविक रूपमै भन्दा पनि प्रचारमुखी शैलीमा अघि बढाइरहेको जिकिर गरे।
दाहालले मुलुकमा राष्ट्रिय तागत निर्माण गरी देश र जनताको पक्षमा काम गर्न कम्युनिस्ट र वामपन्थी शक्तिहरूबीचको एकता अपरिहार्य भएको उल्लेख गरे। इतिहासको सम्मान गर्ने र राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्नकै लागि आफूले कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरण प्रक्रियालाई तीव्रता दिएको उनको भनाइ छ।
कम्युनिस्ट र देशभक्त शक्तिहरूको एकताले मात्रै मुलुकलाई वर्तमान सङ्कटबाट जोगाउन सक्ने बताउँदै उनले अन्य छरिएर रहेका शक्तिहरूलाई पनि एकता प्रक्रियामा सहभागी हुन आह्वान गरे।