०५ चैत,काठमाडौं - मोरङस्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ' चाइना जलाइएको विषयले सरकारी तहमा ध्यान तानेपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
सफाइका क्रममा केही पुस्तक जलाइएको दृश्य सार्वजनिक भएपछि चिनियाँ दूतावासले चासो व्यक्त गर्दै परराष्ट्र मन्त्रालय मार्फत औपचारिक ध्यानाकर्षण गराएको थियो।
यसैक्रममा गृह मन्त्रालयले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको हो। समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सरकारी वकिल कार्यालय र शिक्षा इकाइका प्रतिनिधि समावेश छन्।
शनिबार साँझ फोहोर जलाउने क्रममा उक्त पुस्तक पनि जलेको देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विश्वविद्यालयसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेको थियो। विश्वविद्यालयले भने ल्याब निर्माणका लागि कोठा खाली गर्ने क्रममा पानीले बिग्रिएका र धमिराले नष्ट गरेका सामग्री मुचुल्का बनाएर जलाइएको स्पष्ट पारेको छ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार प्रतिवेदनपछि मात्रै थप निष्कर्ष सार्वजनिक गरिनेछ।
प्रदेश सरकारअन्तर्गत सञ्चालित उक्त विश्वविद्यालयमा यी पुस्तकहरू मनमोहन प्रतिष्ठानमार्फत आएको जनाइएको छ। त्यतिबेला स्वर्गीय भरतमोहन अधिकारी प्रतिष्ठानको नेतृत्वमा रहेका बेला ती पुस्तक विभिन्न संघ–संस्थामा वितरण गर्ने उद्देश्यले ल्याइएको बताइन्छ।
विश्वविद्यालयका उपकुलपति सुभाषश्री पोखरेलले धेरै पुस्तक पहिले नै वितरण भइसकेको र बाँकी सुरक्षित रहेको दाबी गर्दै क्षतिग्रस्त पुस्तक मात्र जलाइएको हुन सक्ने बताएका छन्। साथै, विश्वविद्यालयले आफ्नै तहमा पनि छुट्टै तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ।