स्वर्णिम वाग्लेले भने : सरकार आफ्नै भए पनि गलत कदम सह्य छैन
साझा लाल्टिन संवाददाता
17 March 2026
०३ चैत,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टीकै सरकार बने पनि गलत निर्णयमा मौन बस्न नहुने बताएका छन्।
नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए। “हामी संसदमा केवल समर्थन गर्न होइन, कानुन बनाउन, सरकारको कामको समीक्षा गर्न र आवश्यक परे औँला ठड्याउन आएका हौँ,” उनले भने।
वाग्लेले आफ्नै सरकार भए पनि गलत बाटोमा गए आलोचना गर्न सक्नुपर्ने परिपक्वता आवश्यक रहेको बताए। उनले सांसदहरूलाई जनताको आवाज सशक्त रूपमा उठाउन, विशेषगरी आफ्नो निर्वाचन क्षेत्रका मुद्दालाई प्राथमिकतामा राख्न आग्रह गरे।
नीतिगत बहस, विकास निर्माण तथा सामाजिक–आर्थिक सवालमा गम्भीर हुनुपर्ने उल्लेख गर्दै उनले रास्वपाले जनताबाट पाएको अभूतपूर्व समर्थनलाई परिणाममा रूपान्तरण गर्नुपर्ने धारणा राखे।
“बाचा पत्रमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्दै देशमा थिति बसाल्ने हाम्रो लक्ष्य हो,” उनले भने, “अब काम गरेरै देखाउने समय आएको छ।”