सडकदेखि अर्थतन्त्रसम्म समस्या: इलामको पीडा लिएर नेम्वाङ प्रधानमन्त्री समक्ष
साझा लाल्टिन संवाददाता
30 March 2026
१६ चैत,काठमाडौं - इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामको कृषि र पर्यटन क्षेत्रको सम्भावनाबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष विस्तृत जानकारी प्रस्तुत गरेका छन्।
सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सांसदहरूलाई छलफलका लागि बोलाएका थिए, जहाँ उनीहरूले आफ्ना-आफ्ना निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायहरू प्रस्तुत गरे। यही अवसरमा नेम्वाङले इलामको कृषि उत्पादन र पर्यटन प्रवर्द्धनमा उचित ध्यान दिन सके देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिने धारणा राखे। उनले बीउ उत्पादनदेखि बजार व्यवस्थापनसम्म सरकारले अभिभावकको भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए।
नेम्वाङले इलामका अन्य महत्वपूर्ण विषयहरू पनि उठाएका थिए। उनले पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा र प्रविधि क्षेत्रमा देखिएका चुनौतीहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराए। साथै, दमक–चिसापानी सडकखण्डको ठेक्का विवादबारे पनि अवगत गराउँदै अदालतले मेलमिलापका लागि पठाइसकेको अवस्थामा अब ढिलाइ नगरी प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन्।
यसैगरी, बेलासे सडकखण्डको कमजोर अवस्थाबारे समेत ध्यानाकर्षण गराउँदै उनले अघिल्लो समय विपद्का कारण संकटग्रस्त क्षेत्र घोषणा गरिएको स्मरण गराए। हालको अवस्थालाई सुधार गर्न आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिएका छन्।