काठमाडौँ महानगर घेर्दै कवाडी व्यवसायी

साझा लाल्टिन संवाददाता

काठमाडौँ ९ भदौ -  विगत दुई वर्षदेखि काठमाडौँ महानगरपालिकाले आफ्नो व्यवसायमाथि निरन्तर दमन गरेको भन्दै कवाडी व्यवसायीहरूले महानगरपालिकाको कार्यालय घेराउ गर्ने घोषणा गरेका छन् । कवाडी व्यवसायी समाज नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै महानगरले सञ्चालन गरिरहेको ’अन्यायपूर्ण ज्यादती’ विरुद्ध  आजदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् । 

आज व्यवसायी तथा मजदुरहरूले महानगरपालिकाको कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका छन् । उनीहरूले महानगर प्रहरीले व्यवसायी तथा सङ्कलक मजदुरहरूमाथि कुटपिट गर्ने, सामान जफत गर्ने, संरचना भत्काउने र शारीरिक तथा मानसिक चोट पुर्‍याउने जस्ता अमानवीय कार्य गरेको गम्भीर आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘महानगर प्रहरीको कुटपिटका कारण कवाडी सङ्कलक र मजदुरको टाउको फुट्ने, अङ्गभङ्ग हुने, र घोर मानसिक त्रास सिर्जना हुने घटना बारम्बार दोहोरिँदै आएको छ ।’  महानगर प्रमुख बालेन्द्र शाहले गरिब, श्रमिक र साना व्यवसायीलाई नियोजित रूपमै काठमाडौँबाट हटाउन खोजेको  उनीहरूको आरोप छ । 

उनीहरुले  व्यवसायी र मजदुरमाथि भइरहेका कुटपिट, अपहरण र संरचना भत्काउने जस्ता कार्य तत्काल रोक्न माग गरेका छन् । यस्ता ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने र व्यवसायी तथा मजदुरको जिउधनको सुरक्षाका लागि सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने उनीहरूको भनाइ छ । 

महानगरपालिकाले अव्यवस्थित कवाडी संकलन केन्द्रहरू हटाउने अभियान चलाउँदै आएपछि व्यवसायी र महानगरबिच लामो समयदेखि तनाव सिर्जना हुँदै आएको छ । व्यवसायीहरूले आफूहरूले फोहोरलाई कच्चा पदार्थमा परिणत गरेर महानगरलाई सफा राख्न मद्दत गरिरहेको बताउँदै आएका छन् भने महानगरले दर्ताविहीन र अव्यवस्थित व्यवसाय हटाउनु आफ्नो जिम्मेवारी भएको बताउँदै आएको छ ।

प्रतिक्रिया