१८ चैत,काठमाडौं - सशस्त्र प्रहरी बल (एसपीएफ) का महानिरीक्षक राजु अर्यालले आफ्नो कर्मचारी र परिवारका बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा सरकारले निःशुल्क सुविधा उपलब्ध गराएमा जागिर छाड्ने कर्मचारीको संख्या घट्ने बताए।
बुधबार स्वयम्भूस्थित प्रधान कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री सुधन गुरुङसँग भएको भेटमा अर्यालले सरकारले उपलब्ध गराएको तलब र सुविधाले तल्लो तहका प्रहरीका परिवार पाल्न समेत कठिन भएको भन्दै १६ वर्षमै अवकाश लिनुपर्ने अवस्था आएको बताए। उनले विदेश गइ आर्थिक अवस्था सुधार्ने आशामा जागिर छाड्नेको संख्या बढेको पनि बताए।
अर्यालका अनुसार दिनभरि ड्युटी गर्ने सिपाहीको आर्थिक अवस्था कमजोर हुँदा मनोबल पनि घट्ने भएकाले सरकारले यसबारे आवश्यक पहल गर्नुपर्नेमा उनी विश्वस्त छन्।
उनी भन्छन्, “१३ वर्षसम्म एउटै पदमा काम गर्ने कर्मचारीहरूको मनोबल कमजोर भएको देखिएको छ। नियमावली परिवर्तन गरी तल्लो तहका कर्मचारीहरू अवकाश जाँदा कम्तीमा जुनियर अधिकृत पदमा पुगेका भए कार्यक्षेत्रमा उच्च मनोबलका साथ काम गर्न सकिने थियो।”
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीको कार्यक्षमता बढाउन, समयसापेक्ष सुधार ल्याउन र सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा आन्तरिक सुरक्षा जस्ता क्षेत्रमा स्पष्ट कानुनी व्यवस्थासहित २०५८ को विशेष नियमावली परिमार्जन गरी सक्षम, प्रभावकारी र व्यवसायी बनाउने प्रस्ताव पेश गरिएको जानकारी पनि दिए।