उपत्यकामा चोरको आतंक, एकैदिन काठमाडौँ–ललितपुरबाट ५७ लाख उड्यो

साझा लाल्टिन संवाददाता

१ पुष, काठमाडौं - काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा एकैदिन ठूलो परिमाणको चोरी भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार काठमाडौँ र ललितपुरका पाँच स्थानबाट सुनका गरगहना, नगद तथा अन्य सामग्री गरी करिब ५७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।

काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित सुनिता बजगाइको कोठाबाट २ लाख ९१ हजार रुपैयाँ बराबरको धनमाल हराएको छ। त्यस्तै तारकेश्वर–२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट ३ लाख ७७ हजार रुपैयाँ र काठमाडौँ महानगरपालिका–१५ मा धर्मरत्न शाहीको कोठाबाट सुन–चाँदीका गरगहना तथा एउटा ल्यापटपसहित करिब ७ लाख ४० हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१ भैरव टोलमा जानेन्द्रलाल कर्णको कोठाबाट ४ लाख ४ हजार रुपैयाँ र कृष्ण मन्दिर चोक नजिकै बाबुराम पाण्डेको कोठाबाट सबैभन्दा बढी ३९ लाख ४७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि खोजी तीव्र पारेको जनाएको छ भने सबै घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

प्रतिक्रिया