काठमाडौं ५ साउन - पुर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योगी र व्यापारीले राजनीति गर्दा भ्रष्टाचार मौलाएको निष्कर्ष निकालेका छन् । आफ्नो निवास खुमलटार पुगेका नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीसमक्ष प्रचण्डले यस्तो निष्कर्ष सुनाएका हुन् । राजनीति नगर्न प्रचण्डले संघका पदाधिकारीलाई सुझाव समेत दिएका छन् ।
ठूला उद्योगी र व्यापारीले राजनीतिक पहुँचमा आफू अनुकूलको नीति निर्माण गर्ने गरेको प्रचण्डको भनाई छ । ‘के भइदियो भने ठूला उद्योगी र व्यापारीले रोजगारी सिर्जना भन्दा पनि नीति निर्माणमा हस्तक्षेप गर्न थाले, फेरि सबैलाई भनेको चाहिँ होइन है’, प्रचण्डले भने , ‘पैसा उनीहरुसँगै हुन्छ, आर्थिक प्रलोभन देखाउने बित्तिकै नेता र कर्मचारी हुरुक्कै हुन थाले, यो अन्त्य गर्नुपर्छ, यसले भ्रष्टाचार विकराल बनाउँछ ।’
पूर्व प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र सुधारको लागि उद्योगी र व्यापारीहरुको ठूलो भूमिका रहेको बताए । ‘अर्थतन्त्रको मुख्य आधार नै उद्योग व्यवसाय हुन्, त्यसकारण उद्योगी र व्यापारीहरुले पनि इमान्दार भएर काम गर्नुपर्छ, यहाँ भ्रष्टाचार मौलाएकै आर्थिक प्रलोभनले हो ।