काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गौरव नेतृत्वले आउदो निर्वाचनलाई पूर्ण रूपमा बहिष्कार गर्ने स्पष्ट घोषणा गरेको छ। पार्टी केन्द्रीय समितिले जारी गरेको कडा प्रेस विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्था, राज्यको दमनकारी चरित्र र जनअधिकारमाथिको निरन्तर आक्रमणका कारण निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय सार्वजनिक गरेको हो।
फागुन २०, २१ गते नेपाल बन्दको घोषणा गर्दै माओवादीले भनेको छ, चुनाव जनताको प्रतिनिधित्व गर्ने माध्यम नभई सत्ताधारी वर्गले आफ्नो शासनलाई वैधता दिन प्रयोग गर्ने औजारमा सीमित भएको, दमन, गिरफ्तारी, प्रतिबन्ध र डरको वातावरणमा गरिने निर्वाचन जनताको चुनाव हुन सक्दैन।
पार्टीका अनुसार राज्यले राजनीतिक असन्तोषलाई सम्बोधन गर्नुको सट्टा बल प्रयोग, धरपकड र मुद्दा लगाउने नीति अख्तियार गरेपछि निर्वाचन बहिष्कार अपरिहार्य बनेको हो। माओवादीले आफ्ना नेता–कार्यकर्ता मात्र होइन, आम नागरिकको बोल्ने, संगठित हुने र असहमति राख्ने अधिकारसमेत कुण्ठित गरिएको दाबी गरेको छ।
विज्ञप्तिमा राजनीतिक बन्दीहरूको रिहाइ, झूटा मुद्दा फिर्ता, दमनको अन्त्य र वास्तविक राजनीतिक संवाद बिना हुने कुनै पनि निर्वाचन स्वीकार्य नहुने स्पष्ट चेतावनी दिइएको छ। यस्ता अवस्था कायमै रहे जनस्तरबाट निर्वाचन बहिष्कार अभियानलाई देशव्यापी रूपमा तीव्र बनाइने पनि उल्लेख गरिएको छ।
माओवादीले श्रमिक, किसान, उत्पीडित वर्ग, युवा र क्रान्तिकारी शक्तिहरूलाई “जनताको अधिकार खोस्ने चुनाव” विरुद्ध एकजुट हुन आह्वान गर्दै वैकल्पिक राजनीतिक संघर्षको बाटो रोज्न आग्रह गरेको छ।
पार्टीले निष्कर्षमा भनेको छ—
जनताको मत र अधिकार सुनिश्चित नभएसम्म निर्वाचन बहिष्कार नै संघर्षको मुख्य औजार हुनेछ।