काठमाडौं–१ बाट नेकपाकी मेनुका भण्डारी (कृतु) को उम्मेदवारी दर्ता

साझा लाल्टिन संवाददाता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार मेनुका भण्डारी (कृतु) ले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेकी छन् ।

भण्डारीले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गराएको नेकपाले जनाएको छ ।

उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले काठमाडौं–१ लाई परिवर्तनको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरिन् । “यो निर्वाचन व्यक्तिगत जितका लागि मात्र होइन, जनताको पक्षमा वैकल्पिक राजनीतिक धार निर्माणको लडाइँ हो,” उनले भनिन्, “जनताको आवाज संसदसम्म पुर्‍याउन दृढतापूर्वक मैदानमा उत्रिएको छु ।”

नेकपाले काठमाडौं–१ लाई उच्च प्राथमिकतामा राख्दै संगठन परिचालन तीव्र बनाएको छ । पार्टीका स्थानीय नेताहरूका अनुसार आगामी दिनमा घरदैलो अभियान, कोणसभा र जनसंवाद कार्यक्रममार्फत भण्डारीको पक्षमा व्यापक माहोल बनाइनेछ ।

काठमाडौं–१ मा विभिन्न दलका प्रभावशाली उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसबीच, भण्डारीको उम्मेदवारी दर्तासँगै नेकपाको चुनावी अभियान औपचारिक रूपमा सुरु भएको छ ।

प्रतिक्रिया