साम्बाको घुँडाको अपरेशन सफल, अब पुनरागमनतर्फ फोकस

साझा लाल्टिन संवाददाता

११ चैत,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

साम्बाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत अकल्यान्डमा गरिएको शल्यक्रिया सफल भएको जानकारी दिएकी हुन्। उनका अनुसार डाक्टर साइमन र उनको टोलीले लामो प्रतीक्षापछि उक्त शल्यक्रिया सम्पन्न गरेका हुन्।

अब पुनर्स्थापनाको चरण सुरु हुने बताउँदै उनले भोलिदेखि चिकित्सकको निगरानीमा रिह्याब प्रक्रिया अघि बढाउने जानकारी दिएकी छन्। स्वास्थ्य अवस्था सुधार हुँदै गएपछि थप पुनर्स्थापनाका लागि एस्पेटार जाने योजना रहेको पनि उनले उल्लेख गरिन्।

खाडी क्षेत्रमा देखिएको असहज अवस्थाका कारण कतार जान कठिन भएपछि विशेषज्ञको सल्लाहमा न्युजिल्यान्डमै शल्यक्रिया गरिएको साम्बाले स्पष्ट पारिन्।

कठिन समयमा साथ दिने वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदायप्रति उनले आभार व्यक्त गरिन्। साथै आफ्नो क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टिमले उपचारको सम्पूर्ण प्रक्रिया मिलाइदिएकोमा धन्यवाद दिइन्।

समर्थकहरूको माया र साथले आफूलाई थप ऊर्जा मिलेको बताउँदै साम्बाले अब आफ्नो ध्यान पूर्ण रूपमा पुनरागमनमा केन्द्रित गर्ने प्रतिबद्धता जनाएकी छन्।

प्रतिक्रिया