नेता बदल्न युवाको डटिलो कदम: सुहाङले संसदीय दलको नेतृत्व मागे
साझा लाल्टिन संवाददाता
01 April 2026
१८ चैत,काठमाडौं - नेकपा एमालेभित्र नेतृत्व चयनको बहस चुलिँदै जाँदा युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा आफूलाई अघि सारेका छन्। च्यासलमा जारी संसदीय दलको बैठकमा उनले वर्तमान राजनीतिक परिस्थिति र जनअपेक्षालाई ध्यानमा राख्दै नेतृत्व सम्हाल्न तयार रहेको संकेत गरेका हुन्।
बैठकमा बोल्दै नेम्वाङले पार्टीको विधि, परम्परा र अग्रज नेताहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै आफू जिम्मेवारी लिन इच्छुक रहेको बताएका छन्। देशको समसामयिक अवस्था र संसदभित्र तथा बाहिर देखिएका चुनौतीहरूलाई नजरअन्दाज गर्न नहुने उनको भनाइ थियो।
उनले आफ्नो दाबी प्रस्तुत गर्दै यसलाई अग्रजहरूको भूमिकाको विकल्पका रूपमा नभई युवा ऊर्जा र अनुभवी नेतृत्वबीचको समन्वयका रूपमा लिन आग्रह गरेका छन्। “अहिलेको आवश्यकता भनेको युवा उत्साहसँगै अग्रजको अनुभव र मार्गदर्शन हो,” भन्ने आशय उनले व्यक्त गरेका छन्।
साथै, पार्टीभित्र प्रतिस्पर्धाबाट उत्कृष्ट नेतृत्व चयन गर्ने अभ्यासलाई निरन्तरता दिनुपर्नेमा पनि उनले जोड दिएका छन्।
उक्त बैठक अध्यक्ष बादलको नेतृत्वमा जारी छ भने उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।