काठमाडौँ -इरानका सर्वोच्च नेता मोजतबा खामेनी ले अमेरिका र इजरायलसँग जारी युद्धमा इरानले आफ्ना शत्रुहरूलाई ‘अचम्मको झट्का’ दिएको दाबी गरेका छन्।
शुक्रबार जारी लिखित सन्देशमार्फत उनले इरानी जनताले देखाएको एकताका कारण शत्रुहरू कमजोर बनेको उल्लेख गरेका छन्। फारसी नयाँ वर्ष नौरुज को अवसरमा दिएको सन्देशमा खामेनीले इरानीहरूले ‘दुश्मनलाई चक्मा दिएको’ र त्यसका कारण विरोधीहरू ‘विरोधाभासी अभिव्यक्ति र बकवास’ गर्न थालेको आरोप लगाए।
यसैबीच जेरुसेलम को पुरानो सहर क्षेत्रमा विस्फोट भएपछि इजरायलले तेहरानमाथि पवित्र धार्मिक स्थल लक्षित आक्रमण गरेको आरोप लगाएको छ। उक्त क्षेत्र अल–अक्सा मस्जिद, पश्चिमी पर्खाल र चर्च अफ द होली सेपल्चर जस्ता महत्वपूर्ण धार्मिक स्थल नजिकै पर्ने गर्दछ।
युद्धको प्रारम्भिक चरणमा इजरायली हवाई आक्रमणमा उनका पिता अली खामेनी मारिएपछि खामेनीलाई उत्तराधिकारीका रूपमा अघि सारिएको भए पनि उनी हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। उनले हालसम्म लिखित सन्देशमार्फत मात्र आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्।
खामेनीले आफ्नो सन्देशमा धार्मिक, सांस्कृतिक र राजनीतिक मतभेदका बाबजुद इरानीहरूबीच देखिएको एकताले नै शत्रुलाई पराजित बनाएको दाबी गरेका छन्।