०४ चैत,काठमाडौं - धनकुटामा सोमबार राति आएको हावाहुरीले सरकारी कार्यालय, विद्यालय, निजी घर तथा विभिन्न सार्वजनिक संरचनामा व्यापक क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार घटनाबाट २५ लाख ५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ज्ञानप्रसाद महतोका अनुसार वर्षासँगै आएको तीव्र हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा घर, गोठ तथा सार्वजनिक संरचना प्रभावित भएका हुन्। विशेषगरी आयुर्वेद केन्द्र र सरकारी वकिलको कार्यालयमा मात्रै १५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।
त्यसैगरी विद्यालयहरूमा करिब चार लाख रुपैयाँ र निजी घर तथा गोठमा ५ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ।
हावाहुरीसँगै विद्युत सेवा पनि प्रभावित बनेको छ। भेडेटार, हिले, पाख्रीबास र मूलघाट लगायतका केही क्षेत्रमा विद्युत आपूर्ति पुनः सञ्चालनमा आए पनि धनकुटा सदरमुकाम अझै अन्धकारमै रहेको छ।
नेपाल विद्युत प्राधिकरण, धनकुटा वितरण केन्द्रका अनुसार छथर जोरपाटी क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढल्दा सदरमुकाममा विद्युत आपूर्ति अवरुद्ध भएको हो। साथै, निगाले क्षेत्रमा सातवटा पोल भाँचिनुका साथै ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।
हाल क्षतिग्रस्त संरचना मर्मतको काम तीव्र रूपमा भइरहेको र सदरमुकाममा विद्युत सेवा पुनः सञ्चालन गर्न प्रयास जारी रहेको वितरण केन्द्र प्रमुख विजलीप्रसाद यादवले जानकारी दिएका छन्।