२६ फागुन,काठमाडौं - इरान र संयुक्त राज्य अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच तेहरानले शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने चेतावनी दिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार इरानी उच्च अधिकारीहरूले हालको परिस्थितिमा अमेरिकाले दबाब सिर्जना गरेर वार्ता थोपर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले सैन्य धम्की र आक्रमणको वातावरण कायम रहँदासम्म कुनै पनि वार्तामा बस्ने सम्भावना नरहेको स्पष्ट पारेका छन्।
इरानी नेतृत्वले यदि अमेरिकाबाट आक्रमण जारी रहेमा इरानले ‘उन्नत र शक्तिशाली मिसाइल’ प्रयोग गरी जवाफी कारबाही गर्ने चेतावनी दिएको बताइएको छ। उनीहरूले देशको सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न इरान पूर्ण रूपमा सक्षम रहेको दाबी पनि गरेका छन्।
यसअघि डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित वार्ताको संकेत दिएका थिए। तर इरानी अधिकारीहरूले सैन्य दबाब कायम राख्दै वार्ता प्रस्ताव गर्नु स्वीकार्य नहुने बताएका छन्।
इरानका विदेश उपमन्त्री काजिम घारिबाबादीले अहिलेको अवस्थामा अमेरिकासँग वार्ताको कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन्।