मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला, नेपाल सरकारको निर्णय

साझा लाल्टिन संवाददाता

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले मध्यपूर्वका केही देशमा नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पश्चिम एसियामा विकसित विशेष परिस्थितिका कारण यसअघि रोक लगाइएको श्रम स्वीकृति अब आंशिक रूपमा पुनः खुला गरिएको हो। यससँगै साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशमा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति पुनः प्रदान गरिने जनाइएको छ।

यसअघि सुरक्षा संवेदनशीलताका कारण ती देशमा जाने नेपाली श्रमिकका लागि श्रम स्वीकृति स्थगित गरिएको थियो। तर सम्बन्धित देशका गैरआवासीय नेपाली संघ, दूतावास तथा अन्य निकायबाट प्राप्त सुझाव र स्थितिको मूल्यांकनपछि मन्त्रालयले पुनः श्रम स्वीकृति दिने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान बाहेकका अन्य मुलुकमा कार्यरत नेपाली श्रमिकहरू बिदामा नेपाल आएर पुनः रोजगारीमा फर्कन चाहने अवस्थामा पनि श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ।

मन्त्रालयले सम्बन्धित सबै सरोकारवालालाई यस निर्णयबारे जानकारी गराउँदै आवश्यक प्रक्रिया पूरा गरी मात्रै श्रम स्वीकृति लिन आग्रह गरेको छ। 

श्रम मन्त्रालयले  इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने श्रम नवीकरण दिने निर्णय गरेको छैन ।  


प्रतिक्रिया