३० फागुन,काठमाडौं - दोहास्थित नेपाली दूतावासले कतारमा रहेका र नेपाल फर्कन चाहने नेपाली नागरिकहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर आवेदन दिन अनुरोध गरेको छ।
दूतावासले शनिबार एक सूचना जारी गर्दै वर्तमान मध्यपूर्वी परिस्थितिका कारण कतारबाट सिधा उडान सम्भव नभएकाले साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने अवस्था रहेको जनाएको छ।
यसका लागि कतारमा वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका नेपाली नागरिकहरूले दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्र मार्फत पर्यटक भिसाका लागि आवेदन दिनुपर्ने दूतावासले स्पष्ट पारेको छ। भिसा आवेदनका लागि पहिले नै अपोइन्टमेन्ट बुक गर्न पनि अनुरोध गरिएको छ।
दूतावासका अनुसार आवश्यक प्रक्रिया तथा अन्य विवरणका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्नेछन्।
14 March 2026