प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बलजफ्ती संसद चलाउन खोज्नु उपयुक्त नहुने बताएका छन् ।
प्रतिनिधि सभामा शनिबार बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सापकोटाले विरोधमा रहेका पार्टी र सांसदहरुको मागको सम्बोधनका लागि सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
'विरोधमा रहनुभएका माननीयज्यूहरुको माग सम्बोधनका लागि सरकारको जोडदारपूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । निरंकुश शैलीमा बलजफ्ती संसद चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन,' उनले भनेका छन् ।
यसले लोकतन्त्रलाई गिज्याइरहेको छ र हाम्रो संसदको ओज र गरिमामा समेच आँच पुर्याएको उनको भनाइ छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले वेल घेर्दै आएको छ ।
यसअघि माओवादीले पनि सदन अवरूद्ध गरेको थियो । तर सत्तापक्षसँग दुईबुँदे सहमति गरेर माओवादी केन्द्र सदन खुलाउन राजी भएको थियो । रास्वपा र राप्रपाले भने संसदमा विरोध जारी राखेका छन् ।