रुवी हत्या प्रकरण : किनमेल गर्न निस्केकी रुवी सुटकेशभित्र मृत अवस्थामा भेटिएकी छिन

साझा लाल्टिन संवाददाता

काठमाडौँ ८ भदौ - रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेशभित्र मृत अवस्थामा भेटिएकी रुवी साह सुडी डेरा लिएर गौरमा बस्दै आएकी थिइन् । गौर–२ स्थित महादेवपट्टिको डेरामा उनकी आमा र ४ वर्षीय छोरा सँगै बस्थे । 

भारतमा विवाह गरेकी रुवीले छोरा पढाउन भनेर महादेवपट्टिमा डेरा लिएकी हुन् । उनका श्रीमान भारतको मुजफ्फरपुरमा बस्छन् । डेरामा आमा पनि सँगै बस्थिन् । शनिवार साँझ ४ बजेतिर २६ वर्षीया रुवीले आफ्नी आमालाई भनिन्, किनमेल गरेर आउँछु, आमाले भनिन्, चाँडै आउनु ।

तर, रुवी फर्किनन् । राति करिब साढे ८ बजेतिर डेराभन्दा करिब ३ किलोमिटर पर शङ्कास्पद अवस्थामा सुटकेश भेटिएको खबर आएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले बताएका छन्  । उनले भने, बिहान खोलेर हेर्दा रुवीको शव रहेछ ।

उनको माइतीघर माधवनारायण नगरपालिका–६ मा पर्छ । अन्यत्र हत्या गरेर रुवीको शव गौर–सिरसिया सडक खण्डमा ल्याएर फ्याँकेको मधेस प्रदेशका डीआईजी उमा चतुर्वेदीले बताए । उनले भने, अन्यत्र हत्या गरेर त्यहाँ ल्याएर शव ड्रप गरेको हाम्रो ठम्याई छ ।

प्रहरीले रुवीको को–कोसँग रिसिइवी थियो भन्नेबारे अनुसन्धान गरिरहेको छ । डीआईजी चतुर्वेदी भन्छन्, ‘हत्याको कारण र सम्भावना बारे हामी अनुसन्धान गरिरहेका छौँ ।’

उनको कुहिनो र घुँडा जोडेर सुटकेशमा प्याक गरिएको थियो । उनको नाकबाट रगत बगेको भएपनि शरीरमा अन्यत्र कुनै चोटपटक देखिएको छैन । शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरिँदै छ ।

प्रतिक्रिया