काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले “पुराना दल गलत भए, त्यसैले नयाँ दल चाहिन्छ” भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्र भएको कडा टिप्पणी गरेका छन्।
शनिबार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै चन्दले अहिले राजनीतिक वृत्तमा फैलाइएको नयाँ–पुराना दलको बहस वास्तविक समस्याबाट ध्यान हटाउने सुनियोजित प्रयास भएको बताए।
उनले स्पष्ट शब्दमा भने, “यहाँ समस्या दलको होइन, समस्या राज्यसत्ताको हो। जनताले चाहेको त आफ्नो सेवा गर्ने, आफ्नो पक्षमा निर्णय गर्ने, न्यायपूर्ण ढंगले फैसला लिने सत्ता हो। जनताले नयाँ दल–पुराना दलको कुरा गरेका होइनन्।”
महासचिव चन्दले पुराना दलले भ्रष्टाचार र विकृतिको जन्म दिएको स्वीकार गर्दै पनि नयाँ दल आएपछि मात्रै अवस्था स्वतः सुध्रिन्छ भन्ने धारणा खारेज गरे।
उनका अनुसार नयाँ दलप्रति देखिएको जनआशा पुराना दलको असफलताबाट जन्मिएको हो, तर पुरानो राज्यसत्ता ज्यूँका त्यूँ रहँदा नयाँ दल आएर मात्रै समस्या समाधान हुँदैन।
“मान्छे उमेरले पुरानो हुन सक्छ, तर उनीहरूले बोकेको दृष्टिकोण के हो भन्ने कुरा महत्वपूर्ण हो,” चन्दले भने, “त्यसैले पुरानो नेता–नयाँ नेताको बहस पनि अहिलेको समस्यालाई निकास दिने बहस होइन। यो पनि जनतालाई अलमल्याउने, गुलियो पोतिएको नारा मात्रै हो।”
उनले प्रश्न गरे, “पुरानो सत्तालाई बदल्ने दृष्टिकोण भएको नेता कहाँ छन्? पुरानो चरित्रका सत्तालाई फेर्न सक्ने, त्यहाँभित्रका विकृतिहरू उखेलेर फाल्न सक्ने नेता चाहियो। के नयाँ भन्नेहरूबाट त्यो देखियो त?”
चन्दको निष्कर्ष स्पष्ट थियो—
दल बदल्ने होइन, सत्ता बदल्ने बहस आवश्यक छ।
नारा बदल्ने होइन, चरित्र बदल्ने नेतृत्व चाहिन्छ।