१५ चैत,काठमाडौं - गत २३ र २४ भदौमा घटेको घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन अन्ततः जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तयार गरिएको उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो।
सरकारको निर्णयपछि प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालयमा पठाइएको थियो। गृहमन्त्रालयले त्यसलाई कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठायो। त्यहाँबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी हुँदै अन्ततः जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रतिवेदन पुगेको हो।
परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रतिवेदन प्राप्त भइसकेको छ र अब कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।
प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ। आयोगले जेनजी आन्दोलनका क्रममा भएको हत्या प्रकरणमा उनीहरूलाई संलग्न ठहर गर्दै ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो।
अन्य सुरक्षा निकायसँग सम्बन्धित व्यक्तिहरूको हकमा भने थप अनुसन्धानपछि मात्रै कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।