दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किए

साझा लाल्टिन संवाददाता

काठमाडौँ १३ साउन सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार छुट्टाछुट्टै दुई गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ।  मंगलवार कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटना लम्कीमा भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार से.१ झ ३३० र बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन् ।

दुबै गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ । 

से.१ झ ३३० गाडीमा मन्त्री सुरेन्द्र पाल र  बा.२ झ १४१९ नम्बरको गाडीमा मन्त्री हिरासिंह सार्की सवार रहेको खुलेको छ । हिरासिंहको गाडी सुरेन्द्र पालको भन्दा अगाडि रहेको थियो । उनको गाडीमा पछाडि रहेको पालको गाडी ठोक्किएको थियो । 

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया