काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गर्दै उम्मेदवारसमेत रहेका चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएका छन्।
सोमबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा ढकालसहित जिल्ला तथा स्थानीय तहका दर्जनौँ नेता–कार्यकर्ताले औपचारिक रूपमा नेकपा प्रवेश गरेका हुन्। उनीहरूलाई पार्टी संयोजक तथा शीर्ष नेताहरूले खादा र टीका लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै नवप्रवेशी नेता चिरञ्जीवी ढकालले लामो समयसम्म क्रान्तिकारी आन्दोलनमा योगदान दिए पनि हालको नेतृत्वले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको आरोप लगाए। उनले जनताको आवश्यकता, राष्ट्रिय स्वाधीनता र समाजवादी परिवर्तनका एजेन्डालाई अगाडि बढाउन नेपाली कम्युनिस्ट पार्टी सही विकल्प भएको बताए।
नेकपा नेतृत्वले देशभर कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियान तीव्र पारिएको उल्लेख गर्दै विचार, संगठन र व्यवहारका आधारमा पार्टीप्रति जनसमर्थन बढ्दै गएको दाबी गरेको छ। पछिल्लो समय विभिन्न कम्युनिस्ट धारबाट नेता–कार्यकर्ता नेकपामा समाहित हुने क्रम निरन्तर बढिरहेको छ।
पार्टीले आगामी दिनमा संगठन विस्तार, जनसम्पर्क र राजनीतिक एकताको अभियानलाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ।