गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का दुई खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता प्राप्त गर्दै वडाको नाम उजिल्याएका छन् ।
पाकिस्तानको इस्लामाबादमा सम्पन्न South Asia Regional Tournament Championship मा सहभागिता जनाउँदै सदिप राईले रजत पदक हासिल गरेका छन् । सोही क्रममा, कोरियाको ग्येयोंग, चुन्ग्नाममा सम्पन्न 10th MBC Cup International Open Taekwondo Championship मा सिता तामाङले स्वर्ण पदक जित्न सफल भएकी छन् ।
दुवै खेलाडीको सफलतामा हर्ष व्यक्त गर्दै वडा नं. ६ का अध्यक्ष नवराज लामाले आज विशेष कार्यक्रममार्फत खेलाडीहरूलाई प्रशंसा-पत्र तथा नगद रू. २०/२० हजार प्रदान गर्दै सम्मान गरेका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष लामाले अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त गर्दै देश, नगर तथा वडाको नाम उजिल्याएकोमा खेलाडीहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि खेलकुद क्षेत्रमा अझ सफल हुन शुभकामना दिएका थिए ।
दुवै खेलाडीको यो उपलब्धिलाई वडावासीले गर्वका रूपमा लिएको र आगामी दिनमा खेलकुद प्रतिभालाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।