सांसदले २ वर्षदेखि घर भाडा नबुझाएपछि सभामुखसमक्ष न्याय माग्दै घरभेटी

साझा लाल्टिन संवाददाता

काठमाडौँ  १०  असार - लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सुमन शर्मा रायमाझीले दुई वर्षदेखि घर भाडा नबुझाएको भन्दै उनका घरभेटीले न्यायको अपिल गरेका छन् ।

बर्दिया स्थायी घर भएकी रायमाझीले दाङको राप्ती गाउँपालिका वडा नं १ स्थित हेमलाल आचार्यको घरमा ०७९ माघ ४ गतेदेखि बसेकोमा हालसम्म एक पटक ८० हजार दिएर त्यसयता केही नदिएको भन्दै निवेदन दिएका छन् ।

आचार्यले मासिक १० हजार दिने गरी भाडाको सहमति भएर आफ्नो घरको एक फ्याल्ट दिएका थिए। भाडा दिन धेरै पटक अनुरोध गर्दा पनि भाडा नपाएकाले निवेदन सार्वजनिक गर्नुपरेको र यो विषय प्रदेश सभा र सरकारलाई समेत जानकारी गराएको जनाएका छन् ।

सांसदहरूले आफ्नो नियमित पारिश्रमिकबाहेक हरेक महिना १७ हजार रकम सरकारबाट घर भाडा पाउँदै आएका छन् ।

रायमाझीले  प्रदेश सभाबाट त्यो रकम नियमित लिँदै आएकी छन् तर उता रकम बुझेर घरभेटीलाई नबुझाएको निवेदनले खुलेको छ ।

आचार्य भन्छन कानुन बनाउने र जनतालाई न्याय दिने जनप्रतिनिधिबाट यस्तो कल्पना गर्ने कुरा थिएन, मैले धेरै पटक फोन गर्दा पनि उठाउनुभएको छैन, धेरै पटक भोलि भोलि भनेर टार्नुभएको छ, अहिले त धेरै समय भयो यहाँ घरमा आउनुभएको पनि छैन, मोबाइल पनि स्वीचअफ छ’ आचार्यले भनेका छन् ।

आचार्यले सभामुखलाई नै न्याय दिलाउन आग्रह गर्दै निवेदन दर्ता गराएका छन् । प्रदेश सभा सचिव दुर्लभकुमार पुनले घरभेटीले सभामुखलाई निवेदन दिएको भए पनि त्यो व्यक्तिगत विषय भएकाले प्रदेश सभाले रायमाझीले पाउने सेवा नियमित दिएको र काटेर दिन नमिल्ने बताए । रायमाझी यसअघि बुटवलमा रहँदा पनि घर भाडा नबुझाएको विषय बाहिर आएको थियो ।

केही समयअघि सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी हाल फरार छिन् । पार्टीको पनि सम्पर्कमा नरहेको संसदीय दलका नेता सिके गुप्ताले बताए ।

पर्सा प्रहरीले असार ३ गते रायमाझीलाई पक्राउ गरी बर्दिया प्रहरीसमक्ष बुझाउन पत्राचार गरेको भए पनि सो पत्र अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बर्दिया नपुगेको दाबी बर्दिया प्रहरीले गरेको छ। रकम लेनदेनको मुद्दामा उनलाई पक्राउ पूर्जी जारी भएको हो ।

प्रतिक्रिया