नेपाल कम्युनिस्ट पार्टीको, मोरङ जिल्ला भेला सम्पन्न

साझा लाल्टिन संवाददाता


मोरङ विराटनगर २० जेठ । नेपाल कम्युनिस्ट पार्टी, मोरङ जिल्लाको प्रथम जिल्ला भेला विराटनगरमा भव्य र ऐतिहासिक वातावरणमा सफलता साथ सम्पन्न भएको छ । भेलाले क्रान्तिकारी आन्दोलनको सुदृढीकरण, संगठनात्मक पुनर्निर्माण, र वैज्ञानिक कार्यदिशाको विकासका लागि एक निर्णायक कदम उठाउने निर्णय गरेको छ । 

भेलाले विस्तृत छलफल, बहस र वैचारिक स्पष्टताको आधारमा  विष्णु चौधरीको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति निर्विरोध चयन गरेको छ ।  जुलन सह-संयोजक पदमा चयन हुनुभएको छ । नवगठित जिल्ला समितिले क्रान्तिको आधार निर्माण, वर्गीय चेतना विस्तार, र जनसत्ता स्थापनाका कार्यभारहरू पूरा गर्ने संकल्प गरेको छ ।

भेलामा पार्टीका केन्द्रीय संयोजक क. वसन्त, राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चाका अध्यक्ष  इन्दिरा अधिकारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक कुमार घताने, नेपाल कम्युनिस्ट पार्टी झापा जिल्लाका संयोजक  कृष्ण, तथा राष्ट्रिय खेलकुद लिगका संयोजक क. बिन्दामान लगायत नेताहरूको विशेष उपस्थितिमा शुभकामना तथा प्रशिक्षण मन्तव्यहरू प्रस्तुत गरिएका थिए ।

भेलामार्फत उहाँहरूले मोरङमा क्रान्तिकारी नेतृत्वको निर्माणलाई संशोधनवाद, अराजकतावादी व्यक्तिवाद, विघटनवाद र आत्मसमर्पणवाद विरुद्धको राजनीतिक हस्तक्षेपको रूपमा व्याख्या गर्दै, यसले साम्राज्यवाद, दलाल नोकरशाही पुँजीवाद र सामन्तवादको चक्रव्यूह तोड्ने ऐतिहासिक कार्यभारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको थियो ।

भेलाको राजनीतिक निष्कर्ष अनुसार, नेपालको इतिहास, भूगोल र भविष्य साम्राज्यवाद, दलाल पुँजीवाद र सामन्तवादको गठबन्धनबाट गम्भीर संकटमा छ । वर्गीय असमानता, सामाजिक विभेद र उत्पीडनले समाजलाई विघटन र विस्फोटको दिशामा धकेलिरहेको वर्तमान अवस्थामा, राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशाद्वारा स्वाधीन, सर्वहारा लोकतन्त्र वा जनसत्ता र वैज्ञानिक समाजवादी राज्यको निर्माण नै ऐतिहासिक आवश्यकता भएको ठहर गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीले यस कार्यभारको नेतृत्व गर्ने दृढ प्रतिबद्धता घोषणा गरेको छ । 

भेलाले मोरङ जिल्लालाई जनसंगठन, जनसत्ता र जनविद्रोहका आधारहरू निर्माण गर्ने केन्द्रको रूपमा विकास गर्ने दीर्घकालीन रणनीतिक कार्यदिशा अपनाउने निर्णयसमेत गरेको छ । साथै, संगठनलाई वैज्ञानिक विचार, क्रान्तिकारी अनुशासन, र जनसम्बन्धमा आधारित रूपमा पुनर्गठन गरी देशव्यापी रूपान्तरण संघर्षमा अग्रपङ्क्तिमा उभ्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।



प्रतिक्रिया