क्रान्तिको किल्ला पूर्वी रुकुमबाटै चुनावी युद्ध लड्छु : प्रचण्ड

साझा लाल्टिन संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा पूर्वी रुकुमबाट उम्मेदवारी दिने लगभग निश्चित भएको संकेत दिएका छन्। शनिबार रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले उक्त संकेत गरेका हुन्।

आफ्नो चुनावी योजना सार्वजनिक गर्दै प्रचण्डले पूर्वी रुकुम र पश्चिम रुकुम राजनीतिक, ऐतिहासिक र भावनात्मक रूपमा एउटै रहेको उल्लेख गरे। “रुकुमको विकासका लागि म सधैँ प्रतिबद्ध छु,” भन्दै उनले यहाँका जनताको भरोसा आफूले कहिल्यै तोड्ने छैन भन्ने दाबी गरे।

रुकुमका जनतालाई ‘महान्’ भन्दै प्रचण्डले उनीहरू कुनै भ्रम, विचलन वा षड्यन्त्रको पछि नलाग्ने दृढ शक्ति भएको बताए। रुकुमलाई क्रान्तिको ऐतिहासिक केन्द्रका रूपमा उल्लेख गर्दै उनले यहाँका जनताले सधैँ परिवर्तन र जनआन्दोलनको पक्षमा उभिँदै आएको स्मरण गराए।

सम्बोधनका क्रममा प्रचण्डले पार्टी छोडेर गएका र विचारबाट विचलित भएका नेताहरूप्रति कडा आलोचना गरे। केही व्यक्तिहरूले कम्युनिस्ट आन्दोलन र सिद्धान्त त्यागे पनि रुकुमेली जनता भ्रममा नपर्ने र कसैका दास नबन्ने उनले स्पष्ट पारे। पलायनका पछाडि साम्राज्यवादी र प्रतिक्रियावादी षड्यन्त्र सक्रिय रहेको आरोप लगाउँदै उनले रुकुमका जनतालाई "क्रान्तिका ‘लाल सिपाही"को संज्ञा दिए।

प्रचण्डले अबदेखि पार्टी हेडक्वार्टर र रुकुमेली जनताबीच सिधा र स्थायी सम्बन्ध कायम हुने आश्वासन पनि दिए। साथै, विकास निर्माण, कृषिमा उत्पादकत्व वृद्धि, ऊर्जा, शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर नयाँ सङ्कल्पसहित अघि बढ्ने बताउँदै चुनावी घोषणापत्र लेखनको काम सुरु भइसकेको जानकारीसमेत उनले दिए।

प्रतिक्रिया