‘जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि कानुन बनाउन आवश्यक’ - आरजु

साझा लाल्टिन संवाददाता

काठमाडौं २ भदौ - परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि राष्ट्रिय एजेन्डाका रूपमा कानुन बनाउन आवश्यक रहेको बताएकी छन् ।

हिन्दूकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री राणाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यस समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी हुन् । 

जलवायु परिवर्तनको समस्या मानव सभ्यताका खिलाफको साझा समस्या भएको बताउँदै यसले कुनै देश, भूगोल, राजनीतिक दललाई नचिन्ने उनले उल्लेख गरिन्  । उनले जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेको जिकिर गरिन् । 

मन्त्री राणाले सबैले राष्ट्रिय एजेन्डाका रूपमा कानुन बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जबाफदेही बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता ‌औँल्याइन् । उनले जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्या केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट पारिन् ।

प्रतिक्रिया