६ फागुन,काठमाडौं - काभ्रेको बनेपामा टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएपछि केही समय अवरुद्ध बनेको अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ।
बुधबार बिहान दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै ज्यान गएको थियो। दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाले टिपरमा आगजनी तथा तोडफोड गरेका कारण राजमार्ग अवरुद्ध बनेको थियो।
स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार आगो निभाएर र सडकमा राखिएका अवरोध हटाएपछि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको हो।
मृतकको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ। परिवारका सदस्य अस्पतालमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
18 February 2026