सरकारले आलोचना दबाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्यो : प्रचण्ड

साझा लाल्टिन संवाददाता

 २० भदौ, काठमाडौँ -  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आलोचना दबाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने काम निरन्तर गर्दै आएको आरोप लगाएका छन् । 

शुक्रबार आफ्नो आधिकारी फेसबुक पेजमार्फत प्रचण्डले सूचीकृतमा नआएका फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारको निर्णयको आलोचना गर्दै यस्तो बताएका हुन् । 

‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ’, उनले लेखेका छन् । 

सरकारको कदम संविधान विरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानुनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत भएको उनले बताएका छन् । 

यस निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन नभई देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबिचको सम्पर्क तथा सञ्चारलाई समेत जटिल र असहज बनाएको उल्लेख गरेका छन् । 


प्रतिक्रिया