सिनो शब्द झाँक्रीलाई पासो बन्यो स्पष्टीकरण माग, कारबाहीको तयारी

साझा लाल्टिन संवाददाता

काठमाडौ १८ असार -  नेकपा (एकीकृत समाजवादी)ले नेत्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उनलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो । झाँक्रीलाई आयोगले स्पष्टीकरण सोधिसकेको र प्राप्त हुने जवाफका आधारमा पार्टीमा छलफल भएर आवश्यक निर्णय हुने सचिव सोमप्रसाद पाण्डेले जानकारी दिए ।  

उनका अनुसार झाँक्रीको अभिव्यक्तिबारे बिहीबार बस्ने सचिवालय बैठकमा छलफल हुनेछ । ‘उहाँको गलत अभिव्यक्तिबारे सचिवालय बैठकमा छलफल हुन्छ । उहाँले किन त्यस्तो शब्द प्रयोग गर्नुभयो यो गम्भीर विषय हो’, पाण्डेले भने, ‘अनुशासन आयोगले उहाँलाई स्पष्टीकरण सोधेको छ । सायद जवाफ पनि आउला, सोहीअनुसार पार्टीमा छलफल र निर्णय हुन्छ ।’

अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचार मुद्दाको विषयलाई लिएर पूर्वमन्त्री समेत रहेकी नेतृ झाँक्रीले अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने भनेर अभिव्यक्ति दिएकी थिइन् ।  अध्यक्ष नेपालमाथि मुद्दा दायर भएपछि नैतिकताको आधारमा उनले अध्यक्ष पदबाट समेत राजीनामा दिएर उच्च नैतिकता देखाउन सक्नुपर्ने आवाज पार्टीभित्र र बाहिर समेत उठिरहेका बेला झाँक्रीले सार्वजनिक रूपमा यस्तो बताएकी हुन् ।झाँक्रीले प्रयोग गरेको ‘सिनो’ शब्द चयनको विषयलाई लिएर धेरै नेताहरूले आपत्ति जनाइरहेका छन् । नेताहरूले झाँक्रीको उक्त अभिव्यक्ति कुनै हालतमा जायज हुन नसक्ने र उनलाई कारबाही हुनुपर्ने मत राख्दै आएका छन् ।


प्रतिक्रिया