विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्धको नेकपाद्वारा विरोध

साझा लाल्टिन संवाददाता

काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समितिको जारी बैठकले कलेजहरूमा विद्यार्थी संगठन तथा कार्यस्थलमा ट्रेड युनियन गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रयासको कडा विरोध गरेको छ। पार्टीले यस्तो कदमलाई नागरिक स्वतन्त्रता र श्रमिक अधिकारमाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेको छ।

बैठकबारे जानकारी दिँदै नेता जगन्नाथ खतिवडा ले विद्यार्थी र श्रमिकहरूको संवैधानिक अधिकार कुण्ठित हुने कुनै पनि निर्णयको पार्टीले सशक्त प्रतिवाद गर्ने बताएका छन्। उनका अनुसार पार्टी हाल उक्त विषयमा स्पष्ट राजनीतिक धारणा निर्माण गर्ने चरणमा रहेको छ।

विगत सात दिनदेखि निरन्तर रूपमा चलिरहेको ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजक समितिको बैठकमा हालसम्म ४३ जना नेताहरूले आफ्ना धारणा प्रस्तुत गरिसकेका छन्। दैनिक सीमित समय बसेर सञ्चालन गरिएको बैठकमा देशको समसामयिक राजनीति, नयाँ सरकारको कार्यशैली तथा एकीकृत पार्टीभित्रको कमिटी समायोजन मुख्य एजेन्डाका रूपमा रहेका छन्।

नेता खतिवडाले हालसम्मका छलफलहरू प्रारम्भिक विचार–विमर्शमै केन्द्रित रहेकाले कुनै पनि प्रस्ताव औपचारिक रूपमा पारित नभइसकेको स्पष्ट पारे। नयाँ वर्षको व्यस्तता र थप आन्तरिक तयारी आवश्यक भएकाले बैठक अब वैशाख ३ गते पुनः बस्ने तय गरिएको उनले जानकारी दिए।

उनका अनुसार सोही बैठकले पार्टीको आगामी राजनीतिक कार्यदिशा, साङ्गठनिक समायोजन तथा भावी रणनीतिक योजनालाई अन्तिम रूप दिनेछ। बैठक वैशाख ३ वा ४ गतेभित्र औपचारिक रूपमा सम्पन्न हुने र त्यसपछि पार्टीले आफ्नो नयाँ रणनीति सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया