१५ चैत,काठमाडौं -- पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, र पुष्पकमल दाहाल (प्रचण्ड) को सम्पत्ति सम्बन्धी छानबिन प्रक्रिया अघि बढेको छ।
सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो। यसैक्रममा, आइतबार कांग्रेस नेता र पूर्वउर्जा मन्त्री दीपक खड्का पक्राउ परेका छन्।
सीआईबीका एआईजी डा. मनोज केसीले भने, “विभागको पत्रअनुसार हामीले उहाँलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि पक्राउ गरेका हौं।” तर तीन पूर्वप्रधानमन्त्रीहरूको विषयमा उनले टिप्पणी गर्न चाहेनन् ।
गृह स्रोतका अनुसार, विभागको पत्राचारपछि सीआईबीले तीनै पूर्वप्रधानमन्त्रीको सम्पत्तिको विस्तृत अनुसन्धान अघि बढाएको छ।
यसअघि जेनजी आन्दोलनको समयमा शेरबहादुर देउवाको घरबाट पैसा फेला परेको विषय सार्वजनिक भएको थियो। त्यसपछि विभागले देउवा निवासमा पुगेको र घटनास्थलमा मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाएको थियो। प्रचण्डकी छोरी गंगा दाहालको निवास र केपी शर्मा ओलीको निवासमा पनि मुचुल्का उठाइएको थियो।
अहिले सोही अनुसन्धानलाई थप तीव्रता दिइएको र सीआईबीले विभागको पत्राचारअनुसार काम अघि बढाएको छ।