काठमाडौँ १३ साउन - नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह लामो समयदेखि भूमिगत र अर्धभूमिगत हुदै खुला राजनीतिमा आएका छन् । साउन ९ र १० गते बसेको केन्द्रीय समितिको बैठकले पार्टी महामन्त्री सिंहलाई सार्वजनिक गर्ने निर्णय गरेको हो ।
महामन्त्री सिंह पञ्चायतकालमा पूरै भूमिगत अवस्थामा रहेका थिए । सिंहविरुद्ध राज्यले वारेन्ट जारी गरेको थियो । बहुदलीय अवस्था आएपछि सिंहविरुद्ध वारेन्ट थिएन तर नेकपा मसालले आफ्नो संगठनलाई भूमिगत राख्ने निर्णय गर्यो । बहुदलमा केन्द्रीय वा जिल्ला स्तरमा प्रवक्ताहरूलाई खुला राख्ने र महामन्त्री सिंहलाई अर्धभूमिगत राख्ने नीति अपनाइएको थियो । अर्धभूमिगतको अवस्थामा कुनै स्पष्ट व्याख्या थिएन ।
विभिन्न समयमा परिस्थिति वा आवश्यकताअनुसार त्यसबारे बेग्ला–बेग्लै निर्णयहरू हुदैँ आएका थिए । पहिले फोटो खिच्न पनि नदिने, टिभी, रेडियोमा गएर अन्तर्वार्ता पनि नदिने नीति अपनाइएको थियो । पछि यो नीतिमा खुला र खुकुलो पार्दै जाने नीति अपनाइएको थियो । पछिल्लो समयमा बाह्य र सार्वजनिक कार्यक्रममा नजाने तर आन्तरिक कार्यक्रमहरूमा सामेल हुन सक्ने नीति अख्तियार गरियो । अर्धभूमिगत अवस्थामा पनि बेग्ला–बेग्लै समयमा बेग्लाबेग्लै निर्णयहरू हुँदै आएका छन् । गणतन्त्र आएपछि पनि उनी अर्धभूमिगत अवस्थामा नै रहे ।
अब देशमा बढिरहेको प्रतिगमन र साम्राज्यवादका कारणले देशको राष्ट्रिय र सार्वभौमिकतामा खतरा बढ्दै गएकाले जनताबीच गएर खुला रूपमा विचार लैजानुपर्ने भएकाले आफू सार्वजनिक हुनु परेको प्रेस विज्ञप्तिमार्फत उनले जनाएका छन् । मसालको केन्द्रीय समिति बैठकले पार्टीको संगठनात्मक प्रणाली पहिले जस्तै भूमिगत रहने निर्णय गरेको छ । महामन्त्री सिंहद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, पार्टीको संगठनात्मक प्रणाली पहिले जस्तो नै भूमिगत रहनेछ र पार्टीका प्रवक्ताहरू खुला राख्ने पहिलेको नीति कायम रहनेछ ।
२००६ साल वैशाख १० मा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको २०१४ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भएका सिंह निरन्तर कम्युनिस्ट राजनीतिमा क्रियाशील छन् । प्युठानका सिंह २०१४ साल जेठ १५ देखि २५ सम्म काठमाडौंमा भएको नेकपाको दोस्रो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । नेकपाको दोस्रो महाधिवेशनले केशरजंग रायमाझीलाई महासचिवमा निर्वाचित गरेको थियो ।
२०१७ पुस १ मा तत्कालीन राजा महेन्द्रले कु गरेर शासनसत्ता आफ्नो हातमा लिए । राजाको कदमको विषयमा त्यो बेला कम्युनिस्ट पार्टीको दुई धार भयो । महासचिव रायमाझीले राजाको कदमलाई स्वागत गरे । पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारीले राजा महेन्द्रको कदमको विपक्षमा थिए । पञ्चायती शासन आएपछि २०१९ वैशाख ४ देखि १५ सम्म भारतको बनारसमा नेकपाको तेस्रो महाधिवेशन भयो । त्यो महाधिवेशनमा तुल्सीलाल अमात्य महासचिव भए भने सिंह पोलिटब्युरो सदस्यमा निर्वाचित भए । त्यो बेला पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी पनि पोलिटब्युरो सदस्यमा नै निर्वाचित भएका थिए । तेस्रो महाधिवेशनसँगै नेकपाभित्र विवाद र अन्तरसंघर्ष चुलिँदै गयो । रायमाझीकोे समूह छुट्टै रह्यो । उनी राजावादी नै भए ।
कम्युनिस्ट आन्दोलन छरिएर रहेको र कम्युनिस्ट पार्टी विभाजित रहेको अवस्थामा यसलाई संयोजन गर्नका लागि २०२८ मंसिर २० मा नेता सिंहसहित मनमोहन अधिकारी र शम्भुराज श्रेष्ठ लगायतका नेताहरू समेटर ‘केन्द्रीय न्युक्लियस’ गठन गरियो र एकताका लागि कोसिस थालियो तर एकताका लागि न्युक्लियसले पुष्पलालसँग पनि वार्ता र छलफल गरेर सहमति गर्न सकेन ।
उता २०२८ सालमा झापामा सीपी मैनालीको नेतृत्वमा छुट्टै समूह बन्यो । झापा विद्रोह भनेर इतिहासमा अंकित छ । २०३१ भदौ ३० देखि असोज ७ सम्म भारतको वारानासीमा मोहनविक्रम सिंहको अगुवाईमा चौथो महाधिवेशन भयो । एउटा समूह मोहनविक्रम सिंह र अर्को समूह सीपी मैनालीको नेतृत्वमा रह्यो ।