सरकार ढाल्न केही समूह सक्रिय, एकता जोगाउन रवि लामिछाने को चेतावनी

साझा लाल्टिन संवाददाता

काठमाडौँ - रवि लामिछाने ले सरकार गठन भएको बेलुकादेखि नै सरकार ढाल्न केही समूह सक्रिय हुने गरेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले निर्वाचित उम्मेदवारहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै पार्टीभित्र फाटो ल्याउने प्रयास भइरहेको बताएका हुन्। उनले पार्टीभित्र एकता कायम राख्न नसके र स्वार्थको बन्दी बने मात्रै समस्या आउने स्पष्ट पारे।

उनले भने, “हामी मिल्न सकेनौं भने मात्रै समस्या हुन्छ।”

लामिछानेले अन्य दलबाट रास्वपामा आएका निर्वाचित जनप्रतिनिधिहरूलाई पुराना दलको प्रभावबाट टाढा रहन आग्रह गरे। उनले जथाभावी अभिव्यक्ति दिन नहुने र हल्का मनोरञ्जन गर्ने छुट कसैलाई नभएको स्पष्ट पार्दै प्रत्येक मतको सम्मान गर्नुपर्ने बताए।

उनले निर्वाचित जनप्रतिनिधिहरूलाई आफ्नो अभिव्यक्तिप्रति सचेत र जिम्मेवार बन्न सुझाव दिए। जनताले मत दिएसँगै सबैको भूमिका बदलिएको उल्लेख गर्दै उनले जनताको जीवनमा प्रभाव पार्ने गरी काम गर्नुपर्ने बताए।

त्यस्तै, उनले सकेसम्म सरकारी अस्पतालमै उपचार गराउन पनि आग्रह गरे।

लामिछानेले कानुनी तथा प्रशासनिक प्रक्रियाबारे जानकारी राख्नुपर्नेमा जोड दिँदै “कुन धाराले कहाँ काम अड्किएको छ भन्ने थाहा पाउनुहोस्, कसैको पछि दौडधुप नगर्नुहोस्,” भने।

उनले कुनै बहाना गर्न नपाउने गरी जनताले आफूहरूलाई जिताएर पठाएको भन्दै जनप्रतिनिधिहरू अझ जिम्मेवार बन्नुपर्ने बताए।

कार्यक्रममा उनले पार्टीको विगतबारे पनि चर्चा गरे। पार्टी स्थापना भएदेखि नै विभिन्न प्रहारहरू भएको उल्लेख गर्दै उनले पार्टीको नाम, चुनाव चिन्हलगायत विषयमा मुद्दा खेप्दै आएको बताए। “विभिन्न स्वार्थ समूह र पुराना दलबाट पार्टी जोगाएर यहाँसम्म ल्याएका छौं,” उनले भने।

उनले जनताको चेतनालाई केहीले प्रश्न गर्ने गरेको उल्लेख गर्दै त्यो गलत रहेको बताए। अघिल्लो चुनावमा जनताले पुराना दललाई सुधार्ने अवसर दिन र नयाँ दल ‘मात्तिन’ नदिन सन्तुलित मत दिएको उनको भनाइ थियो।

लामिछानेले पार्टीभित्र अनुशासन कायम राख्न कडाइ गरिने चेतावनी दिँदै आवश्यक परे कारबाही गरिने बताए। साथै, ‘राइट टु रिकोल’को व्यवस्था लागू गर्ने विषयमा पनि उनले संकेत गरे।

अन्त्यमा उनले देशको भविष्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, “देश अहिले पनि बनेन भने कहिल्यै बन्दैन। मतदाताले हामीलाई ‘यो देश बचाउ’ भनेर पठाएका छन्, यो निकै गहिरो जिम्मेवारी हो।”

प्रतिक्रिया