ओली पक्राउको विरोधमा एमालेको माइतीघरमा आज पनि प्रदर्शन
साझा लाल्टिन संवाददाता
30 March 2026
१६ चैत,काठमाडौं - नेकपा एमालेले सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै राजधानीमा विरोध कार्यक्रमलाई निरन्तरता दिने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै एमालेले आज पनि काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन आयोजना गर्ने जनाएको छ।
पार्टीका सचिव महेश बस्नेतका अनुसार दिउँसो १ बजेबाट सुरु हुने उक्त प्रदर्शन एमाले राजधानी प्रदेश कमिटीको नेतृत्वमा सञ्चालन हुनेछ। उनले पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।
एमालेले वर्तमान सरकार निरंकुश ढंगले अघि बढिरहेको आरोप लगाउँदै आएको छ। अध्यक्ष ओली पक्राउ परेदेखि नै पार्टीले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ।