रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अप्रत्यासित मत परिणाम ल्याएको छ। प्रत्यक्षतर्फ १६५ मध्ये १२० सिटमा अग्रता वा जित निकाल्दै स्थापना भएको तीन वर्षमै रास्वपाले पुराना दलहरूलाई ठूलो धक्का दिएको छ। स्थापनाको तीन वर्षमै पुरानो पार्टीलाई नराम्ररी धुलो चटाउँदै रास्वपाले ल्याएको मतलाई धेरैले ‘व्हिम’ र ‘घण्टीको लहड’ भनेका छन् ।
तर रास्वपाले ल्याएको मतपरिणामलाई कतिपयले ‘व्हिम’ वा ‘घण्टीको लहड’ को संज्ञा दिएका छन्। केही निर्वाचन क्षेत्रको अवस्था हेर्दा मतदाताले उम्मेदवारलाई राम्रोसँग नचिनिकनै घण्टी चुनाव चिन्हमा मतदान गरेको देखिएको टिप्पणी भइरहेको छ।
यसको एउटा उदाहरण हो धनुषा जिल्ला क्षेत्र नम्बर १। यहाँ घण्टी चुनाव चिन्हका उम्मेदवार किशोरी साह ‘कमल’ उम्मेदवारी खारेज भइसकेपछि पनि अन्य उम्मेदवारभन्दा अगाडि देखिएका छन्।
निर्वाचन आयोगले फागुन १८ गते कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको प्रमाण भेटिएपछि साहको उम्मेदवारी खारेज गरेको थियो। आयोगका अनुसार उम्मेदवारी खारेज भएपछि उक्त चुनाव चिन्हमा खसेका मत बदर हुने व्यवस्था छ।
उम्मेदवारी खारेजीविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। तर यसबीचमा मतदाताले उनलाई नै सर्वाधिक मत दिएका कारण आयोग अन्योलमा परेको छ। आयोगले अहिले सर्वोच्च अदालतको आदेश कुर्ने निर्णय गरेको छ।
खारेज भएका उम्मेदवारले नै सर्वाधिक मत ल्याएको घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। धेरैले ‘घण्टीबाट कुकुर–बिरालो उठाए पनि जित्ने’ भन्ने टिप्पणी गरेका छन् ।
लक्ष्मण खाँण लेख्छन्, “कुकुर बिरालो उठाए पनि जित्ने रैछन्, जान्नेहरू।”
त्यस्तै, देवेन्द्र कोइरालाले मतदानको अर्थ र महत्व नबुझ्ने मतदाताको समस्या रहेको उल्लेख गर्दै लेखेका छन्, “मतदानको अर्थ नबुझ्ने जनता भएको देशमा कुलमान घिसिङजस्ता व्यक्तिहरू हारे भनेर टाउको दुखाउनु बेकार छ।”